अर्थ
कोरला नाकाबाट पहिलोपटक भित्रिए भेडाच्याङ्ग्रा, १० कन्टेनर ऊन पनि आयात
तिब्बतबाट कानुनी प्रक्रिया पूरा गरी मुस्ताङ भित्र्याइएका भेडाच्याङ्ग्रालाई क्वारेन्टाइनमा राखियो, दसैँमा बजार मूल्य सस्तिने अपेक्षा

नेपाल-चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक कानुनी प्रक्रिया पूरा गरी ४१९ वटा भेडाच्याङ्ग्रा र १० कन्टेनर भेडाको ऊन नेपाल भित्र्याइएको छ। तिब्बतबाट ल्याइएका यी पशुलाई अहिले मुस्ताङको लोमान्थाङमा क्वारेन्टाइनमा राखिएको छ। नाकाबाट वैधानिक आयात सुरु भएसँगै दसैँमा च्याङ्ग्राको मूल्य घट्ने अपेक्षा गरिएको छ।
नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक कानुनी प्रक्रिया पूरा गरी भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका छन्। गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यो नाकाबाट तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्र्याउन सुरु गरिएको हो। मुस्ताङको लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार हालसम्म चार हुलमा गरी ४१९ वटा भेडाच्याङ्ग्रा नेपाल भित्रिएका छन्।
पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक डा. गणेश केसीका अनुसार भदौ ३१ गतेदेखि असोज २ गतेसम्म लगातार तीन दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतबाट यी भेडाच्याङ्ग्रा आयात गरिएका हुन्। भदौ ३१ गते १५५ वटा च्याङ्ग्रा, असोज १ गते ११८ च्याङ्ग्रा र ४६ वटा भेडा तथा असोज २ गते थप १०० वटा च्याङ्ग्रा कोरला नाका हुँदै नेपाल भित्रिएका हुन्।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले व्यावसायिक तथा पशुपालन प्रयोजनका लागि तिब्बतबाट यी भेडाच्याङ्ग्रा खरिद गरी ल्याएका हुन्। पोखरा कार्यालयअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकामा गरी दुई वटा पशु क्वारेन्टाइन चेकपोस्ट सञ्चालनमा छन्।
नेपालको क्वारेन्टाइन ऐनअनुसार विदेशबाट पशु आयात गर्दा सम्बन्धित देशको आधिकारिक निकायबाट जारी पशु निरोगिताको स्वास्थ्य प्रमाणपत्र तथा खोप लगाएको विवरण सात दिनअगावै चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान छ। सोही नियम पालना गर्दै लोमान्थाङका जनप्रतिनिधि तथा व्यापारीले आवश्यक कागजात पेस गरेर भेडाच्याङ्ग्रा भित्र्याएका हुन्।
सीमावर्ती व्यापारीले पशु निरोगिताको प्रमाणपत्र पेस गरे पनि खोप विवरण स्पष्ट नभएकाले लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल भित्रिएका भेडाच्याङ्ग्रालाई खोप लगाउने काम गरिएको वरिष्ठ पशु चिकित्सक डा. केसीले जानकारी दिए।
चीनबाट आयात गरिएका यी भेडाच्याङ्ग्रालाई अहिले लोमान्थाङको न्याम्डो र छोसेर चरन क्षेत्रमा स्थानीय भेडाच्याङ्ग्राको बथानसँग नमिसाउने गरी छुट्टै राखिएको छ। क्वारेन्टाइन ऐनअनुसार आयातित पशुलाई सात दिनसम्म छुट्टै राख्नुपर्ने नियम छ। यसको अनुगमन क्वारेन्टाइन चेकपोस्टका पशु प्राविधिक र प्रहरी निकायले गरिरहेका छन्।

